के नेत्रित्व परिवर्तन नै सबै समस्याको समाधानको उपाय हो त?

कुनै ठाउँमा राजनीतिक बहस चल्दै छ भने प्राय सबै ठाउँमा सुनिने एउटा तर्क हुन्छ “अहिलेका सबै नेताहरु समाप्त भए भने सबै समस्याको हल हुन्छ ” | व्यक्तिगत भेटघाटमा हुने चिया गफ देखी सोसल मिडियामा हुने बहसमा समेत यस्तो तर्क सुनिनुलाई कुनै अनौठो मानिदैन | तर के अहिलेको स्थितिमा सबै समस्या नेतामात्र हुन त? यसबारे चाहिं कमै मात्र चर्चा हुने गरेको पाइन्छ | सर्बसाधारणहरुको जमातमा यस्तो कुरा हुन सामान्य मान्न सकिन्छ तर कतिपय बौद्धिक मानिने व्यक्तिहरु समेत यस्तै तर्कहरु दिने गर्दछन | के यसको मतलब केहि थान नेताहरुको परिवर्तन नै अहिलेको समस्याको समाधान हो त? यो लेखमा मैले यसबारे आफुले बुझेका केहि कुरा राख्दै छु |

 नेताहरु असल की खराब भन्नु अघी हाम्रा नेताहरुको धरातलको अनुसन्धान गर्ने हो भने धेरै कुरा प्रस्ट हुन्छ | अनि नेताहरु असल की खराब भन्ने कुराको निर्क्योल गर्न निकै सहज हुन्छ | त्यसैले सुरुमा मैले नेताहरुको बौद्धिक आधारबारे केहि लेख्न खोज्दै छु | (यसो भन्दैमा म आफुलाई बिश्लेसकको स्थानमा पुर्याउन खोजेको हैन | ब्लगमा लेखिएका सबै कुरा सर्बमान्य हुनुपर्छ भन्ने हुँदैन | लेखकको स्वविवेक नै यसमा प्रधान हुन्छ भनेर बुझ्नुहुनेछ भन्ने मलाई लागेको छ | ) हाम्रो देशको निर्बाचन प्रणाली हेर्दा लगभग आधा भन्दा बढी व्यक्ति निर्बाचनमा संलग्न हुन्छन | यसको मतलब हो आधा भन्दा बढी नेपालीहरु अहिलेको नेतृत्वमा बिश्वास गर्दछन | मतदान र मतदाताको संख्याको विश्वसनियताको कुरो अर्कै होला | तर कम्तिमा आधा जनसंख्याले अहिलेको नेतृत्वलाइ स्विकार गरेको कुरा साँचो हो | हाम्रा नेताहरु जुन नैतिक र बौद्धिक धरातलको प्रतिनिधित्व गर्दछन त्यसको आधार हामि सर्बसाधारण मा नै छ | कुनै पनि देशको नेतृत्व त्यो देशको औसत जनताको चेतनास्तर भन्दा फरक हुँदैन | जहाँ नेता सचेत हुन्छन त्यहाँका नेताको सोंच र जनतामा राजनीतिक चेतना कम भएका मुलुकका नेताहरुको सोंचमा आकाश पातालको नै फरक हुन्छ | त्यसैले अहिले हाम्रो नेताहरुमा जुन सोंच र संस्कारको बिकास भएको पाइन्छ त्यसको कारण हामीहरु नै हौँ भन्दा कुनै फरक पर्दैन |

जनता र नेताको सोंचको कार्यप्रणाली एकै छ भनेर भन्दै गर्दा कसरी भनेर प्रश्न उठ्न सक्छ | त्यसैले म यसबारे केहि उदाहारण समेत दिन चाहन्छु | हामे प्राय नेताहरुलाई नाताबादमा लागेको भनेर आरोप् लगाउने गर्छौं | तर हामी आफै कुनै मौका परेको बेला आफ्नो मान्छे र अर्काको मान्छे भनेर छुट्टाउन पछी सर्दैनौं | जस्तो की आफु कोठा सर्दा होस् अथवा आफ्नो सम्पर्कमा राम्रो कोठा खाली भएको थाहा होस् हामी सकेसम्म आफ्नो मानिस त्यो ठाउँमा आएर बसोस भन्ने कामना गर्दछौं | यस्तो किन भनेर सोध्दा पाउने जवाफ एकै हुन्छ “सबैतिर यस्तै चलेको छ ” | आखिर सबै तिर त चलेको रैछ | नेताहरु आफ्नो पहुँचमा पुगेको बेला त्यहि सबै तिर चलेको चलन अनुसार चले त के गल्ति गरे | त्यस्तै अर्को प्रसंग उठ्छ नेताहरु भ्रस्टाचार गर्छन | तर हामि मध्ये धेरैले आफु संलग्न संघ संस्था हरुको कुनै सानो काम गर्दा समेत कमिसनको लोभ गर्ने गर्दछौं | त्यहि कुरा नेताहरुले गर्दा चाहिं हामीलाई किन गलत लाग्छ? 

फेरी कुरो उठ्ला नेताहरुले गर्ने गल्ति ठुलो परिमाणमा हुन्छ र देशलाई नै हानी गर्न सक्छ | त्यसैले उनीहरु बढी दोषी हुने गर्दछन | तर के हामीहरु उनीहरुको स्थानमा भएको भए त्यो सबै कुरा समाप्त पार्न सक्थ्यौं त? पक्कै सक्दैनौं | किनकी उनीहरु र हामी बिच मात्रात्मक रुपमा भिन्नता होला तर गुणात्मक रुपमा हामीहरु एकै हौँ | लोकसेवा आयोगले परिक्षा लिएर योग्य ब्यक्ती छाने जस्तो हामी बिभिन्न प्रक्रिया मार्फत आफु सुहाउँदो नेता हरु छान्ने गर्दछौं | यसमा चाहीँ निर्बाचन मात्र छनोटको बिकल्प हुँदैन | बिभिन्न संगठनात्मक प्रक्रिया समेत यसमा गासिन्छन | यसरी हामीले आफ्नो अनुकुलका नेता छान्ने गर्दछौं | र तिनै नेताहरु पछी आफ्नै गुण अनुसारका क्रियाकलाप गर्दा चाहिं नेताहरुले यसो गरे भनेर गुनासो गर्ने गर्दछौं | 

अब प्रसंग उठ्छ आखिर किन हामीहरु आफ्नो सब गल्ती नेताहरुमा थोपरेर आफु चोखो बन्न खोज्छौं त? यसमा मेरो बुझाइ मेरो एकजना साथीले प्रयोग गर्ने सब्दको सापटी लिएर भन्न चाहन्छु | उसले प्राय भन्ने शब्द हो “डिफेन्स मेकानिज्म” | अर्थात आफ्नो कमजोरी ढाक्न अरुमा दोष थोपर्ने प्रक्रिया | जब गुणात्मक रुपमा नभई मात्रात्मक रुपमा मात्र फरक भएका नेताको चरित्रमा प्रश्न चिन्ह लाग्छ त्यतिबेला हामि भुल्छौं की त्यो चरित्र हामीमा निहित चरित्र नै हो | र नेताहरुमा गाली गरेर आफु रमाउन खोज्छौं | 

त्यसो भए के नेता हरु समाप्त हुनुनै अहिलेको समस्याको समाधान हो त? अलि अलि राजनीती बुझेको मान्छे पक्कै प्रस्ट हुनुपर्छ की यो कुनै हालतमा समाधान होइन | अहिलेका नेता सकिएलान तर स्थापित राजनीतिक परिपाटी उही नै छ | यो परिपाटीमा जो आए पनि हुने उही नै हो | अहिलेका केहि केन्द्रीय नेता हटाएर तिनै पार्टीका स्थानीय गतिबिधि हेरौं त | उही छनक र उही चलन भेट्ने गर्दछौं | त्यसको अर्थ हो नेताहरु को परिवर्तन मात्र सुधारको उपाय हुन सक्दैन | त्यसो भए के युवा नेताहरुलाई स्थान दिएर चाही समस्या समाधान हुन्छ त? त्यसमा समेत म चाहिं प्रस्ट छु | केहि बर्ष बिद्यार्थी राजनीतीसँगको सानिध्यले मलाइ के सिकाएको छ भने युवा नेताहरुमा समेत उनि नेताहरुमा जस्तै जालझेल छ | कपट छ र लुछाचुडी छ | अर्थात अहिलेको मुख्य नेतृत्वमा भएको सबै बिक्रिती युवानेताहरुमा छ र स्थानीय स्तरमा छ | त्यसैले भन्न सकिन्छ की नेता परिवर्तन मात्र ब्यबस्स्था परिवर्तनको आधार हुन सक्दैन | समग्र परिवर्तनको लागी आवस्यक छ नयाँ सोंच र नयाँ संस्कारको | जहाँ बाट उत्पन्न हुने नेतृत्वले मात्र देशलाई नयाँ दिशामा मोड्न सक्नेछ |