निर्जीव तर्कहरु

तर्कहरु सजिब र निर्जिब दुवै हुन्छन | मेरो पछिल्लो फेसबुक स्टाटस | जसमा आएका कमेन्टमा सोधिएको थियो यसको अर्थ के होला | मैले आफुले महसुस गरेको कुरा भएपनि अरुलाई समेत त्यति चासोको बिषय बन्ला भन्ने सोंचेर त्यो स्टाटस लेखेको थिईन | तर त्यसको बारे बुझ्न मन गरेर प्रश्न आउन थालेपछी सबै कुरा स्पस्ट पार्न मन लाग्यो | तर यसको उत्तर फेसबुकको कमेन्ट बक्समा दिन अलि असम्भब भएको कारण यता बाट दिंदै छु |

 प्रसंग केहि दिन अघी मैले सुनेको एउटा रेडियो कार्यक्रममा सुनेको फोनबार्ताबाट सुरु गर्छु | त्यो कार्यक्रममा एक जना मित्रले झापाबाट फोन गर्नुभएको थियो | उहाँले सन्चो बिसन्चोको कुरामा के गर्नुभो मैले ख्याल गर्न सकिन | तर त्यसपछी उहाँले हरेक तर्कमा बिभिन्न प्रख्यात ब्यक्तिहरुको उद्धरण सुनाउन लाग्नुभो \ त्यो वार्तालापको लगभग ५ मिनेट को अबधीमा उहाँले कम्तिमा १० वटा बिभिन्न व्यक्तिको भनाइ राख्न भ्याउनुभो | सायद उहाँले सोच्नुभो होला ती तर्क दिएर उहाँले आफुलाई ठुलै विद्वान सावित गर्नुभो | तर जसजसले त्यो कुराकानी सुने सायद सबैले महसुस गरे की उहाँको बोलीमा उहाँको मौलिकता भन्ने कुरा कहीं पनि थिएन | हरेक कुरालाई उहाँले अध्ययन गरेको कुनै पुस्तकको सन्दर्भ सँग जोडेर देखाउँदा उहाँको प्रस्तुती भद्दा साबित भएको थियो | त्यो बार्तालाप सुन्दा मलाई नेपाली भनाइ याद आयो “अरुले भरेको बुद्धीले कति दिन काम गर्छ र ”

 यो त एउटा प्रसंग हो | तर समाजमा हामीले थुप्रै यस्ता विद्वान हरु भेट्ने गर्छौं जसको कुनै पनि बिषयमा आफ्नो कुनै राय हुँदैन | कुनै प्रसंगमा कसैले केहि सोधिहाले भने फलानो ब्यक्तीले यसो भन्नुभएको छ अथवा फलानो किताबमा यस्तो लेखेको छ भन्ने सिवाय अरु कुनै उपाय हुँदैन | अझ रमाइलो कुरा त्यहि प्रसंगको कुरामा अरुले कुनै प्रतिप्रश्न गरे भने पनि त्यसको प्रतिरक्षा गर्ने उपाय हुँदैन | माथिकै प्रसंगमा भन्दा ती महानुभावले चौथो विश्वयुद्धको बार्रे आइन्स्टाइनको भनाइ राखे | त्यसको प्रतिक्रियामा कार्यक्रम प्रस्तोताले “उनलाई चौथो विश्वयुद्ध भयो भने के होला भनेर सोधे भएन भने के होला भनेर सोधेको भए के भन्थे होलान ” भनेर सोद्धा अक्क न बक्क भएको सम्झेर अहिले पनि हाँसो लाग्छ | मैले यस्तै तर्कहरु लाइ निर्जीव भनेको हुँ | 

मानिसले अध्ययन गर्नुपर्छ तर त्यसको प्रयोग ब्यबहारमा हुनुपर्छ | त्यसै भनिएको हैन पढेर भन्दा परेर जानिन्छ भनेर | जब किताबी ज्ञानको प्रयोग हुँदैन त्यतिबेला त्यो ज्ञान अपूर्ण ज्ञान हुन जान्छ | र त्यसको प्रयोग स्वभाबत अपूर्ण हुन जान्छ | ज्ञानको अवस्थाको आधारमा  त्यो ज्ञानबाट निस्किने तर्कहरुको मुल्यांकन गर्न सकिन्छ | जब तर्कको मुहान अनुभवले खारिएको ज्ञान हुन्छ त्यतिबेला त्यो तर्क सजिब हुन्छ | तर जव अनुभब बिहिन तर्कहरु हुन्छन ती तर्कमा जीवन हुँदैन | 

तर मानिसहरु किन यसरी कृतिम र निर्जीव तर्क दिने गर्दछन त? यसका धेरै कारण हुन सक्छन तर अहिले सम्म मैले भेटेको व्यक्तिहरुमा दुइ किसिमको कमजोरी भेटेको छु | पहिलो प्रकारका व्यक्तिहरु जसमा आत्मविश्वासको कमी हुने गर्दछ | त्यसैले उनीहरु आफ्नो बिचारलाई अन्य ठुला व्यक्तिहरुको भनाइबाट पुस्टि गराउन चाहान्छन | त्यसैले हरेक तर्कको पछी समाजमा महान भनिएका व्यक्तिहरुको उद्धरणको सहयोग लिने गर्दछन | र सबैभन्दा धेरै र ब्यापक रुपमा भेटिने समस्या हो कुनै सम्प्रदायमा आबद्ध व्यक्तिहरुमा | हुनत हिन्दु धर्म सास्त्रअनुसार भक्तियोगमा लाग्ने व्यक्तिहरुमा कुनै संकाबिना आफुलाइ सुहाउंदो बाटोमा बढ्नुपर्छ भनेर लेखेको छ रे | तर पनि बाटोमा जानुअघी त्यो बाटोको बारे पुरै जानकारी लिनु पर्ने की नपर्ने? यो कुरा मुख्य हो | तर धेरै जसो व्यक्तिहरु मोक्षको लोभमा नभई जीवनमै केहि पाउने लोभमा बिभिन्न सम्प्रदायमा आबद्ध हुने गर्दछन | तर त्यो सम्प्रदायको लक्ष्य अन्य धेरैकुरामा अनबिज्ञ हुने गर्दछन | तर उनीहरुलाई अरुको अघी आफ्नो सम्प्रदाय कमजोड देखिन्छ् की भन्ने ठुलै डर हुन्छ | त्यसैले आफुले बुझेका नबुझेका तर्क दिन थाल्छन | त्यसमा धेरै जस्तो आफ्नो धर्मगुरुले दिएका प्रबचन हुबहु उतारिएको हुन्छ | उनीहरुको तर्क सुन्दा लाग्छ उनीहरु साक्षात इश्वर भेटेर आएका मानिस हुन् | तर उनीहरु जे तर्क गरिरहेका हुन्छन त्यसको सानो अंशको समेत उनीहरुलाई अनुभब हुँदैन | ठिक यहि कुरा अधिकांस राजनीतिक दल भनाउँदा सम्प्रदायमा लागु हुन्छ | कार्यकर्तारुपी भक्तहरु आफ्ना धर्मगुरुरुपी नेताको भनाइ यसरि हुबहु उतार्छन की उनीहरुका नेता मात्र समाज परिवर्तनका असली ठेकेदार हुन् | तर उनीहरुको तर्कमा समेत न त आफ्नो अध्ययनको निचोड हुन्छ न त अनुभबको | आफ्ना धर्मगुरुहरुनै उनीहरुका एक मात्र ज्ञानका श्रोत हुने गर्दछन | त्यसैले उनीहरुसँग कुरा गर्दा लाग्छ कुनै कठपुतली सँग कुरा गरिंदै छ | 

अरुको कुरा पछ्याउन हुँदैन भन्ने हैन | संसारमा कसैले कसैको कुरा नापछ्याएको भए सायद अहिले मानब समाज यति अगाडी आउने थिएन | तर कुनै कुरा पछ्याउनु अघी त्यो कुरा ठिक हो अथवा हैन भनेर संका गर्न सक्नु पर्छ | अनि त्यो कुरा जीवनमा कतिको ब्यबहारिक हुन सक्छ भनेर सोच्न सक्नु पर्दछ | सकेसम्म आफ्नो जीवनमा उतार्न सक्नु पर्दछ | अनि मात्र त्यो बिषयमा सजिब र ब्यबहारिक तर्क दिन सकिन्छ | अन्यथा माथिको उखानकै अर्को रुप “भरेको खर्चले कति दिन पुग्छ र ” भनेजस्तो हुने छ |