प्रयोगात्मक कक्षाको दुर्दशा

मलाई मन पर्ने बैज्ञानिकमध्ये एक जना बैज्ञानिक हुन मिचियो काकु | मैले सुने अनुसार उनले स्कुल पढ्दा नै पार्टिकल एक्सिलेरेटर बनाएका थिए रे | दुखको कुरा बिज्ञान बिषयको औपचारिक अध्ययन सकिने बेला सम्म पार्टिकल एक्सिलेरेटर बनाउने कल्पना त परै राखौं राम्रो सँग यसलाई हेर्न समेत पाइएको छैन | अहिले स्नातकोत्तर दोश्रो बर्षको प्रयोगात्मक कक्षा लिंदै गर्दा केहि तिता अनुभब मनमा आए | जसलाई यो पोस्ट मार्फत व्यक्त गर्दै छु |
मैले बिद्यालय अध्ययन गर्दाताका हाम्रो बिद्यालयमा भएका उपकरण भनेका चुम्बक, राउण्ड बटम फ्लास्क, केहि टेस्ट ट्युब, स्प्रिट ल्याम्प, र लिटमस पेपर मात्र थिए सायद | बिद्यालयमा यहि सामग्री मात्र प्रयोग गरेर केहि प्रयोग बिज्ञान शिक्षकले गरेर देखाएका थिए |  एसिड र अल्कालीको टेस्ट गर्न लिटमस पेपरको प्रयोग, राउण्ड बटम फ्लास्क्को मुखमा ग्लास रड राखेर पानि तताउँदा फैलिन्छ भन्ने प्रयोग, चुम्बकले उत्तर र दक्षिण देखाउँछ भन्ने प्रयोग र केहि कुरा घोलिएको झोल पदार्थलाई तताउँदा त्यो घुलेको पदार्थ क्रिस्टलको रुपमा निस्किन्छ भन्ने प्रयोग, मेरो पुरै स्कुल जीवनमा भएका प्रयोगात्मक परिक्षण यत्ती मात्र थिए | यस मध्ये नुनपानी लाइ सुकाएर नुनको क्रिस्टल निकाल्ने प्रयोग मात्र मैले आफै गरेको थिएँ त्यो पनि घरमा गएर |
जब म आइएस्सी अध्ययन गर्न भनेर  त्रिचन्द्र कलेजमा भर्ना भएँ, मेरो सबै भन्दा ठुलो उत्सुकता नै प्रयोगात्मक कक्षा थियो | आफुले स्कुलमा देखेका उपकरण आफै चलाउन पाइने भन्ने कुराले निकै उत्तेजित बनाएको थियो | तर यो सबै उत्साह र उत्तेजना मेरो पहिलो प्रयोगात्मक कक्षामै सकियो | केमिस्ट्रीको पहिलो क्लासमा मैले केहि केमिकललाइ मिसाउँदा के हुँदो रैछ भनेर हेर्न खोज्दा ल्याबको दाइले नराम्रो सँग गाली गर्नु भएको थियो | अनि ल्याबमा शिक्षकले सिकाएको बाहेक कुनै अरु प्रयोग गर्न नपाइने बताउनु भएको थियो | त्यसपछिका हरेक प्रयोग शिक्षकको निर्देशनमा सिमित रहे | शिक्षकले यसो गर भनेर निर्देशन दिए पछी खुरुखुरु त्यहि आदेश मान्यो, पुर्ब निर्धारित नतिजा निकाल्यो अनि कपि चेक  गरायो  | आइएससी र बिएससीको सबै प्रयोग यहि घेरामा सिमित रहे | त्यस माथी सामान सधै अभाब हुने समस्या अनि सामान भए पनि गतिलो सामान नहुनु, राम्रो सामान बिद्यार्थीले नपाउने समस्या त छदै थियो | खिया लागेका र राम्रो डाटा नदिने सामान फिजिक्स ल्याबका समस्या थिए भने सुद्ध केमिकल नभेटिने समस्या केमिस्ट्री ल्याबको |
तर जसोतसो बिएससी सकेपछी मास्टर्स लेभलमा चाहिं पक्कै प्रयोगात्मक अध्ययन राम्रो होला भन्ने लागेको थियो | तर त्यो भ्रम समेत समाप्त भएर गयो | प्रयोगात्मक कक्षाका  आइएससी र बिएससीका समस्या यथावत थिए भने अरु समस्या पनि थपिएका थिए | कम्तिमा  आइएससी र बिएससीमा आफै डाटा लिएर आफ्नै निचोड निकालिन्थ्यो | तर अहिले त्यो झन्झट समेत हराएको छ | अन्तिम समयमा कलेजले प्रयोगात्मक कक्षा सुरु गर्छ, यति दिन भित्र सबै कक्षा सकेर आफ्नो कपिमा चेक  गराएर  सक्नु भन्ने उर्दी जारी गर्छ | चाहेर वा नचाहेर पनि प्राक्टिकल गर्नु  भन्दा पनि अलि अलि हेर्नु अन्तमा अघिल्लो बर्षको कपि सारेर देखाउनुको बिकल्प बिद्यार्थीसँग छैन | र चेक   गरेर सक्ने बित्तिकै सुरु हुने प्रयोगात्मक परीक्षाले गर्दा आफैले घरमा अध्ययन गर्न समेत नपाउने अवस्था हुन्छ |
हामीलाई पढाउनु भएको एक जना शिक्षकले भन्नु हुन्थ्यो की उहाँहरुको पालामा प्रयोगात्मक परिक्षा भनेको प्रतिष्ठाको बिषय हुने गर्थ्यो |  परीक्षामा  अन्तर्वार्ता लिने शिक्षक भारतबाट झिकाइनथ्यो रे | त्यसैले उनीहरुलाई प्रभाबित बनाउन भनेर निकै तयारी गर्थे रे विद्यार्थीले | तर प्रयोगात्मक कक्षा नै झारा टार्ने तहमा झर्दा परीक्षामा बिद्यार्थीको जाँगर घट्नु स्वाभाविकै हो | तर अहिले त केहि बिद्यार्थी हरु यस्ता समेत भेटिन्छन जसले कुनै पनि प्रयोगात्मक कक्षा लिंदैनन | एकै चोटी डाटा सार्ने अनि कपि साइन गराउने र परीक्षामा जाने अनि चिनेको शिक्षक सँग सोधेर प्रयोग गर्नेगरेको भेटिन्छ | उनीहरुकै धेरै अंक आएको समेत देखिन्छ | जसले गर्दा प्रयोग गर्नु पर्छ र केहि सिक्नु पर्छ भन्ने भावना बिद्यार्थीहरुमा दिन प्रति दिन मार्दै गएको छ |
प्रयोगात्मक कक्षाहरु बिज्ञान बिषयको आधारभूत आवस्यकतामा पर्दछ | तर क्याम्पस र बिश्वबिद्यालय अनि बिद्यार्थीको लापरबाहीको कारण प्रयोगात्मक कक्षाहरु औपचारिकतामा सिमित हुँदै गएका छन् | बर्षेनी २००० भन्दा बढीको संख्यामा स्नातकोत्तर उतिर्ण हुने बिश्वबिद्यालयमा भएको  दुरावस्थाले बिद्यार्थीहरुको क्षमतामा समेत असर पुगेको छ |  तसर्थ अबको दिनमा सुबिधासम्पन्न प्रयोगशाला र  प्रभाबकारी प्रयोगात्मक कक्षा बनाउने तर्फ सबैको ध्यान पुगोस | अनि मात्र देशले सक्षम बैज्ञानिक जनशक्ती उत्पादन गर्न सक्ने छ |