कमिला र ब्रह्माण्ड

केहि समय अघिको कुरा हो | जसले मेरो सोचाइलाई नराम्रो सँग धक्का दिन सफल भयो | एउटा सामान्य तर असामान्य परिस्थिति | जसको बारे मैले यहाँ बर्णन गर्न जाँदै छु
म नियमित भेटघाटको लागी आफ्नो जन्मस्थल अर्घाखाँची पुगेको थिएँ | घरमा लिंची लटरम्म फलेको थियो | मैले थुप्रै पाकेका लिची आफ्नो कोठामा ल्याएर झ्याल नजिक बसेर खाँदै थिएँ | मेरो कोठा भुइँतलामा भएको कारण सुरक्षाको लागी झ्यालमा जाली लगाइएको छ |र लिचीको बोक्रा झ्यालमा थुपारेर राखेको थिएँ, अन्त्यमा सबै बटुलेर बाहिर लगेर फाल्ने भनेर |
त्यहि बेला एउटा कमिला झ्यालको छेउको सानो प्वाल बाट भित्र छिर्यो | लिचीको बोक्रामा टाँसिएको सानो टुक्रा च्याप्यो अनि बाहिर जान खोज्यो | तर यो पटक त्यो कमिला जाली बाट नै बाहिर जान खोज्दै थियो | निकै प्रयास गरेपनि बाहिर जाने बाटो उसलाई भेटाउन असम्भब जस्तै देखिएको थियो | कारण उसले आफ्नो ठिक बाटो भेट्टाउन सकिरहेको थिएन |
यो सामान्य कुरालाई मैले यहाँ प्राथमिकता दिएर राख्नुको कारण चाहिं अर्कै हो | यसलाई मैले भौतिक विज्ञानको अहिले सम्मको यात्रासँग तुलना गर्न खोज्दै छु |
मानिसले ब्रह्माण्ड लगायत सबै कुराको अध्ययनको सुरुवात गरेको इतिहास एरिस्टोटल बाट सुरु भएको मानिन्छ | उनि पछि ग्यालिलियो, आइनस्टाइन लगायतका महान भौतिक सास्त्रीहरुले भौतिक विज्ञानको मार्फतबाट ब्रहमाण्डको रहस्य पत्ता लगाउने कोसिस गर्दै आएका छन् | एरिस्टोटलको बेलाको कुनै बस्तु चलाए पछि मात्र चल्छ र यसको प्राकृतिक अवस्था भनेको स्थिर अवस्था हो भन्ने अवस्था देखि सापेक्षताबाद र क्वान्टम थ्योरी सम्म आउँदा यो खोज झन सघन हुँदै गएको छ | आइनस्टाइन को सापेक्षताबाद को सिद्धान्त , बिभिन्न बैज्ञानिकहरु मिलेर प्रतिपादन गरेको क्वान्टम सिद्धान्त अनि ब्रह्माण्ड बिस्तार हुँदै छ भन्ने तथ्यको आधारमा ब्रहमाण्डको उत्पत्तीको बारेको खोजी उत्कर्षमा पुगेको दाबी गरियो | र अनबरत रुपमा केहि दशक देखि यहि बिषयमा अध्ययन अनुसन्धान हुँदै आएको छ | र सबै कुराको बर्णन गर्न सक्ने सिद्धान्त अर्थात थ्योरी अफ एभ्रीथिंग नजिकै रहेको बिश्वास गरिन्छ | तर एउटा लिमिट जहाँ ब्रह्माण्डमा रहेका सबै बलहरू उत्तिकै सक्रिय रहेको बिश्वास गरिन्छ त्यो अवस्थाको बर्णन गर्न निकै गार्हो परिरहेको छ | जुन दिन यो अवस्थाको बर्णन सम्भाब हुने छ त्यो दिन बिज्ञान पूर्ण हुनेछ | अहिलेका बैज्ञानिक हरुको बिश्वास हो यो |
तर थ्योरी अफ एभ्रीथिंग यति नजिकै छ त? इतिहासलाई हेर्दा त्यति सजिलो देखिदैन
| न्युटनको सिद्धान्तमा आधारित भौतिक बिज्ञान जतिबेला उत्कर्समा थियो त्यतिबेला केहि बैज्ञानिक बिशेस गरि लाप्लास हरुले डीटरमीनासटिक प्रिन्सिपल अर्थात सबै पदार्थको अबस्था बताउन सक्ने सिद्धान्त बनाउने कुरामा बिश्वास गरेका थिए | त्यसको लागी ब्रहमाण्डमा भएका सबै पदार्थहरुको अवस्था थाहा पाइनु पर्ने कुरामा उनीहरुले जोड दिएका थिए | तर हिजन्बर्गको अनिश्चितताको सिद्धान्तको आगमन संगै उनीहरुको त्यो बिश्वासको पनि अन्त्य भो | र कुनै पदार्थको बारे सबै जानकारी एकैसाथ पाउन सकिदैन भन्ने मान्यताको सुरुवात भयो |
हामीहरुलाइ ब्रहमाण्डले दिएको जानकारी निकै थोरै मात्र छ | हाम्रो प्रत्यक्ष अबलोकन बाट देखिने ब्रहमाण्ड सानो अंश मात्रै हो | बिभिन्न प्रविधि बाट हामीले अध्ययन गरेर हाम्रो पहुँच बाहिरको ब्रहमाण्डको समेत हामीहरु अध्ययन गरिरहेका छौं | तर हामीहरु कहिले पनि यो कुरामा निश्चित हुन सक्दैनौ की हामीहरुले सबै कुरा भेट्टाईसकेका छौं | किनकी हामीहरुले भेट्टाएको क्षेत्र भन्दा बाहिर पनि थुप्रै कुराहरु नभेटाइएका हुन सक्छन |
अब म सुरुको प्रसंगमा फर्किन्छु | कमिलाले झ्यालको जालीलाइ बाहिर जाने बाटो ठानेर झुक्किनुसँग हाम्रो भौतिक विज्ञानको के सम्बन्ध छ? यसमा मेरो तर्क यति मात्र हो की थ्योरी अफ एभ्रीथिंगको यात्रामा जानेक्रममा कमिलाले जस्तै हामीहरुले गलत बाटो त छानेनौं ? जसरी कमिलाले जाली बाहिर उज्यालो देख्छ र बाहिर जाने बाटो यहि हो भनेर अल्मलिन्छ त्यसरी नै थ्योरी अफ एभ्रिथिंगको यात्रामा हामीहरु पनि अलमलिएका त छैनौं | मैले भन्न खोजेको यत्ती हो