त्यो वालपेपर लाइ सम्झिदा

उ तेरो गर्ल फ्रेन्ड हो?
मेरो साथीले सोधेको यो प्रश्नको जवाफ दिन मैले चाहिन | उनीहरुले सोच्नु उनीहरुको कुरा थियो जसमा मैले टाउको दुखाउनुपर्ने कुनै कारण थिएन |
****************************************************************************************************

त्यसको केहि महिना अघी कुनै साथीको फेसबुक कमेन्टमा कुनै एक पात्रले गरेको कमेन्ट मलाइ मन परेको थियो | अहिले जती सम्झन खोजेपनि त्यो कमेन्ट याद हुन्न | सायद जीवनमा नजिक हुन आउने व्यक्तिहरुसँगको पहिलो भेट रहस्यको गर्भमै रहन्छ |
त्यो कमेन्ट हेरेर कतिबेला फ्रेन्ड रिक्वेस्ट गयो र कतिबेला एसेप्ट भो , त्यो पनि मलाइ याद छैन | सायद उसलाई पनि छैन होला |
*************************************************************************************************
“What is the meaning of poke?” बाटो हराएको बेला कुनै बाटोमा भेटिने व्यक्तिलाई फलानो ठाउँ जाने बाटो कहाँ हो भनेर सोधे जस्तै थियो उसँगको पहिलो कुराकानीको सब्द | उसले सोधेको यो प्रश्नले सायद प्रश्न जस्तै अनौठो मित्रताको सुरुवात हुँदै थियो सायद |
छोटो समय मै अन्तरंग कुराकानी हुन थालेको थियो सायद | जीवनलाई बुझ्ने उसको सैली फरक थियो | सायद उसँग नजिक हुनुको कारण यहि थियो |
छोटो समयमै उसको बारे मैले धेरै कुरा थाहा पाएको थिएँ | बाल्यकालमा मैले जस्तै धेरैजसो समय उसले एक्लै बिताउनु परेको थियो | युवा अवस्थामा उसको संघर्षको प्रवृति र मेरो संघर्षको प्रवृति लगभग उस्तै थियो | उसको र मेरो अन्तर्मुखी स्वभाब मिल्थ्यो | र भबिष्यको सम्भावित जटिलता समेत उस्तै उस्तै थिए | हो यिनै कारणहरुले गर्दा मैले उसलाई आफ्नो प्रतिमुर्ती जस्तो देख्न थालेको थिएँ |
उसको एउटा फोटो थियो फेसबुक प्रोफाइल पिक्चरमा | जसमा उसको मुस्कान भरिएको थियो | त्यो फोटो मैले निकै लामो समय सम्म नियालेर हेरें | उसको मुस्कानलाइ नियालेर हेरें | त्यो मुस्कान भित्रको पिडा महसुस गरें | त्यो मुस्कान भित्रको संघर्षको अनुभब गरें | लाग्यो त्यो मुस्कान उसको हैन बरु मैले ऐना अगाडी बसेर आफ्नै मुस्कान हेर्दै छु | लाग्यो त्यो मुस्कान मेरै हो | र त्यो भित्रको पिडा पनि मेरै हो | मैले उसको मुस्कान हेरे जस्तो अरुले पनि मेरो मुस्कान हेर्छन होला | उनीहरु र मेरो पिडाको बिचमा मेरो मुस्कान पर्खाल बनेर उभिन्छ होला | अनि उनीहरुलाई झुक्काउछ होला |  त्यतिबेला त्यो तस्बिर मेरो लागी प्रेरणाको स्रोत जस्तै बन्यो | थुप्रै दिन म त्यो फोटो हेरेर बसें | थुप्रै कल्पना गरें | र अन्त्यमा मोबाइलको वाल्पेपर बनाउने निर्णय गरें |
********************************************************************************************************
कुनै केटिको तस्बिर त्यो पनि वालपेपरमा | साथीहरुले अनौठो मान्ने नै भए | जती भने पनि वाल्पेपरमा भएको तस्बिरको व्यक्ति साथी मात्र हुन् नसक्ने उनीहरुको बुझाइ थियो | यत्तिकैमा एकजना साथीले सोध्यो “के उ तेरो गर्लफ्रेन्ड हो?”
यसको उत्तर  मसँग थिएन | फोटोमा भएको केटि मेरो प्रेमिका हैन मेरो सबैभन्दा मिल्ने साथी हो भनेर बुझाउन झन गाह्रो थियो | कोठामा फर्केर चुपचाप वाल्पेपर हटाएँ |
हटाउनु अघि त्यो तस्बिर फेरी एक पटक हेरें | लाग्यो त्यो मुस्कानले भन्दै छ “लाछी खुब मलाइ प्रेरणाको स्रोत भन्थिस , साथीहरु सँग डराएर हटाउन लागिस हैन ?”