के हामी सहि कुरा नै सिकाउँदै छौं?

प्राय कक्षामा बिद्यार्थीहरुले सोध्ने प्रश्न हुन्छ , " सर तपाईंंको सपना शिक्षक बन्ने नै थियो?"

कक्षाकोठामा जेसुकै भनेपनी, शिक्षक बन्नु मेरो सपना थिएन । कारण हो ,  समाजको शिक्षण पेसाप्रतीको असहिष्णु नीति । अहिलेपनी समाजमा शिक्षक हुनुलाइ  सबैभन्दा निरिह छनौट मानिन्छ । र हरेक शिक्षक हरेक पल यो भन्दा राम्रो अबसरको खोजीमा रहन्छ्न ।  त्यसैले मलाइ शिक्षक हुनु थिएन  । तर समयक्रमले मलाइ एउटा शिक्षक बनाइदियो । 

करिब सात बर्ष देखि म शिक्षण पेसामा छु, त्यो पनि नीजी बिद्यालयमा । अर्थात, समाजको मर्यादाक्रममा सबैभन्दा तल्लो स्तर । तर यही स्थानवाट मैले पाएको अनुभव र ज्ञान चाहीँ  अरु कुनै पनि पेसाकर्मीले पाउँदैन भनेर ठोकुवा गर्न सक्छु ।
बिज्ञानको विद्यार्थी हुँदाहुँदै  दर्शन र समाजसास्त्रको समेत रुचि हुनुको कारण होला, शिक्षण पेसाभित्रका थुप्रै कुराहरुलाइ फरक फरक कोणबाट हेर्दै गर्दा एउटा बिद्यालय वा विद्यार्थी मात्र होइन यही पेशामार्फत समाजको बारे अध्ययन गर्ने अबसर मिलेको छ ।
हरेक अभिभावक सँग भेट्दा र उनिहरुले आफ्नो बच्चाप्रती लिएको आशालाइ हेर्दा लगभग समान धारणा देख्न पाइन्छ । त्यो हो, बालबालिकाले राम्रो अंक ल्याउन र शिक्षाको माध्यममार्फत राम्रो पेशा अंगाल्दै समाजमा सम्मानित जीवन अंगाल्न सकुन । यो कुनै ब्यक्तीको अबधारणा नभइ एउटा पुस्ताको धारणा हो, जुन पुस्ताको सफल ब्यक्तीहरुमध्ये अधिकांस ब्यक्ती आफ्नो एकेडेमीक क्षेत्रमा सफल रहेका ब्यक्तीहरु नै थिए । र त्यो पुस्ता अहिलेपनी एकेडेमीक क्षेत्रमा सफल हुनुलाइ नै  सफल भबिस्यको सुचक मान्दछ ।

आजभन्दा सय वर्षअघिसम्म अधिकांस नेपालीको जीवन कृषिमा निर्भर थियो । र त्यो समयमा धेरै  सम्पत्ती हुनु नै सफलताको प्रतीक मानिन्थ्यो । धेरै प्राबीधिक ज्ञान नभएपनी प्रायजसो सबै समस्याको हल हुन्थ्यो । त्यसैले शिक्षा एउटा सिमित बर्गको पहुँचमा हुँदापनी खासै फरक पर्दैनथियो । तर विभिन्न क्षेत्रमा बिकास भएको प्राबिधिक ज्ञानको कारण हरेक समस्या समाधानको लागि विशेषज्ञको आबस्यकता पर्न थाल्यो । र शिक्षा समाजको अनिवार्य आबश्यकता बन्दै गयो। अहिलेको अभिभावक बनेको पुस्ता त्यही पुस्ता हो जसलाइ शिक्षित हुनु र नहुनुले धेरै नै असर पारेको थियो । र त्यही अभिभावक अहिले आफ्नो बालबच्चामा एकेडेमीक सफलता लाद्न चाहन्छ ।

अहिलेको समयमा   शिक्षाको महत्व कसैले पनि नकार्न सक्दैन । हरेक क्षेत्रमा बिकास हुँदै गएको बृहत् प्राबिधिक बिषयबस्तुको कारण अध्ययनको महत्व झनै बढेर गएको छ । अर्को तर्फ समयक्रममा कुनैबेला महत्वपुर्ण मानिएका बिषय कालान्तरमा पुगेर कम उपयोगी सावित भएका पनि छ्न । प्रबीधीको बिकाससँगै रोजगारीका रुप फेरिएका छन । र नयाँ नयाँ अबसर बिकसित हुँदै आएका समेत छ्न । यो अबस्थामा।अहिले महत्वपुर्ण मानिएका कुरा छिट्टै अनाबस्यक मानिए कुनै अचम्म हुने छैन । 
अहिलेको प्राबिधिक बिकासको कारण सृजना हुने अबसरलाइ अहिलेको शिक्षप्रणालीले आत्मसात गर्न समेत सकेको छैन, जसको कारण कक्षाकोठाहरु बोरिङ्ग हुँदै गएका छन । एकातर्फ युवापुस्ता आफुलाइ चाहिने ज्ञान इन्टरनेटबाट खोज्न थालेका छन अर्को तर्फ एकेडेमीक पर्फर्मेन्स घट्दै गएको छ । अहिलेको शिक्षाक्षेत्रमा रहेको सबभन्दा ठुलो अन्तर्बिरोध यही नै हो ।
सय बर्ष अघि  धेरै खेतबारी हुनु भनेको उत्तम मानिन्थ्यो र त्यो बेलाको सिनियर पुस्ताले जुनियरलाइ धेरै सम्पत्ती जोडे हुन्थ्यो भनेर सोंच्थ्यो होला । अर्को पुस्ताले प्रतिकुलताका बाबजुत पढ्यो र आफुलाइ सक्षम वनायो । त्यस्तै अहिले हामीले देखेको समाज र यसका आदर्श निकै छिटोछिटो परिवर्तन भएको अवस्थामा  हामीहरुले बताएको बाटो केही बर्षमै आउटडेटेड नहोला भन्ने कुनै आधार छैन। तर हामीहरु यही बाटोलाइ छोड्नै नमिल्ने भनेर सिकाउँदै छौँ । भबिस्यको यो बिकराल अबस्थाबारे अनभिज्ञ एउटा पुस्ता आफ्नै संघर्षको गाथा सुनाउन ब्यस्त छ ।
र फेरि पनि, आफ्नो लक्ष्य नभएतापनी जोडिएको पेशा, र यसका जटिलताले गर्दा आजकाल  चाहीँ आफैमा शिक्षक भएकोमा गर्व गर्दै छु ।

No comments:

Post a Comment